राज र वर्षाको म्यूजिक भिडियोसँगै प्रेम यात्रा

१० भाद्र २०७८, बिहीबार १५:१७

काठमाडौँ। कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीको भेट भएको धेरै लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । आफूलाई मिल्ने साथी बताए पनि वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको छ ।वर्षा र राज केही दिन अगाडि मात्र होलिडे मनाउन चितवन पुगेका थिए । यी दुईले अब एकसाथ काम पनि गर्न थालेका छन् । केही दिन अगाडि मात्र वर्षा र राजले अभिनय गरेको नविन के भट्टराइको स्वरमा समावेश गीत सार्वजनिक भएको थियो । यसपछि, वर्षा र राजलाई नै लिएर ‘म यस्तो गीत गाउँछु’ बोलको गीत पनि तयार पारिएको छ । यो गीत शुक्रबार सार्वजनिक हुँदैछ । रियल लाइफमा समेत प्रेम जोडी बनेका केही कलाकारलाई लिएर भिडियो बनाउँदा चर्चा बढी हुने सोचेरै मेकरले उनीहरुलाई प्रस्ताव गर्ने गरेका छन् । कुनै समय पल शाह र आँचल शर्माको जोडी यसरी नै चम्किएको थियो ।