
विराटनगर ।प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन ।यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् ।बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्याउँछौं ।’उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताए ।
