
काठमाडौं । लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा प्रवेश गरेर उनी मुख्यमन्त्री बनेको धेरैले चर्चा गरे ।
यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए । तर, माधव नेपाल समूह छोडेर मुख्यमन्त्री भएको भोलिपल्टै शाक्यले अर्को ‘सरप्राइज’ दिएकी छिन् । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी छिन् । जुन ओली पक्षका लागि ‘सरप्राइज’ हो ।
