
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा)लाई हटाएर महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख फेर्नु भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार झालाई बर्खास्त गर्दै मिश्रलाई मंगलबार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी गराउनुभएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुनछ । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री हुनुहुन्थ्यो । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको थियो।
