
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि विज्ञप्ति जारी गरेर विभाजनका प्रयासहरु विरुद्ध उभिन आव्हान समेत गर्नुभएको छ । राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित सोमबार राति १२ बजेदेखि संसद अधिवेसन अन्त्य गरिएको थियो ।
ओलीले विज्ञप्तिमा भन्नुभएको छ–, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’
