
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ति खारेजी माग गर्दै सोमबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।
शाक्यले रिटमा आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्नुभएको छ ।रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
शाक्यको रिटमाथि बुधबार सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सुनुवाइ बुधबारको लागि तोकिएको जानकारी दिनुभयो ।
