माओवादीको अन्तरिम विधान, नेकपाकै निरन्तरता

३१ श्रावण २०७८, आईतवार १२:१२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी .माओवादी केन्द्र)ले व्यवस्थित ढंगले विधान मस्यौदा तयार पारेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको ५२ पेज लामो अन्तरिम विधान(२०७८ पारित भएपछि माओवादी नयाँ वैधानिक व्यवस्थामा जानेछ ।

माओवादी केन्द्रको प्रस्तावित विधान साविक नेकपाकै विधानको निरन्तरताजस्तो देखिन्छ । नेकपा एमालेले अवलम्वन गरेका संगठनात्मक संरचना र ढाँचामा माओवादी केन्द्रको अन्तरिम विधान गएको छ ।अधिकांश विधानका व्यवस्था एमाले र साबिक नेकपाकै हुबहु रहे पनि एमालेले प्रस्तावित विधान मस्यौदामा हटाएको वैकल्पिक सदस्यको प्रावधान माओवादीले अभ्यास गर्न खोजेको छ । त्यसबाहेक अन्य संठनात्मक संरचना नेकपाकै निरन्तरता छन् ।

२९९ सदस्यीय केन्द्रीय समिति, सो केन्द्रीय समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य नयाँ व्यवस्था हुन् । त्यस्तै माओवादीले सेल कमिटीदेखि केन्द्रीय समितिसम्मको सदस्य संख्या पनि निर्धारण गरेको छ ।

माओवादीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहनेछन् । उपमहानगर समिति ८१,नगर समिति ६५,गाउँ समिति ५५ सदस्यीय रहनेछन् ।
सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुनेछन् ।