हाइटीमा शक्तिशाली भूकम्प, ३ सय जनाको मृत्यु

३१ श्रावण २०७८, आईतवार ०९:४४

काठमाडौं। हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पबाट जीवन गुमाउने संख्या ३ सय नाघेको छ ।

शनिबार बिहान हाइटीमा ७ं.२ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्र बिन्दु (लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पबाट अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको उद्दारमा खटिएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार भूकम्पमा १८ सयजना घाइते भएका छन् ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंग्रिदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् ।