शेयर धितो कर्जाको सीमा यथावतः ठूला लगानीकर्तालाई कडाईं, सानालाई प्रोत्साहन

२९ श्रावण २०७८, शुक्रबार १६:४८

काठमाडाैं । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको कर्जाको सीमा सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

उनले यो सीमा ७० प्रतिशत नै कायम गरिएको जानकारी दिए । यस्तै, मार्जिन प्रकृतिको कर्जा साना लगानीकर्तालाई पाउन् भन्ने उद्देश्यले ठूला लोन लिनेहरुलाई भने केही टाइट व्यवस्था गरिएको छ ।

सेयर धितोमा मौद्रिक नीतिले कडाइ गरेको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने बताएका हुन्।

सेयर धितो राखेर कसैले १२ करोड रूपैयाँ भन्दा बढी ऋण लिन पाउने छैन। यसले ठूला सेयर लगानीकर्ताको मनोवलमा असर पार्ने भएकाले केही दिन बजार प्रभावित हुन सक्नेछ। यसअघि यस्तो व्यवस्था गरिएको थिएन।

यद्यपि सेयर धितोमा दिइने कर्जाको दर र गणनाको व्यवस्था भने पुरानै कायम राखिएको छ। शेयर धितोमा पछिल्लो १२० दिनको औसत मूल्यलाई आधार मानेर कुल सेयर मूल्यको ७० प्रतिशतसम्म ऋण पाइने गरेको छ।

मौद्रिक नीतिको पूर्णपाठ

https://www.nrb.org.np/contents/uploads/2021/08/Monetary-Policy-2078-79.pdf