मौद्रिक नीति आज सार्वजनिक हुने

२९ श्रावण २०७८, शुक्रबार ११:४१

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यसको लागि बिहान राष्ट्र बैंकको बोर्ड बैठक बसेको छ ।

राष्ट्र बैंक व्यवस्थापन समितिले मौद्रिक नीति स्वीकृत गर्दै बिहीबार बोर्डमा पठाएको थियो राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । व्यवस्थापन समितिले स्कीकृत गरिसकेपछि त्यसबारे छलफल गर्न गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाउनुभएको हो । मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । सरकार परिवर्तनसँगै नयाँ सरकारले यसअघिको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने र त्योभन्दा अगाडि अघिल्लो सरकारको मूल्याङ्कन गर्न अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने भएपछि गभर्नरले मौद्रिक नीति रोक्नुभएको थियो ।

अर्थमन्त्री शर्माले मंगलरबार संसदमा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्गनिर्देशन भएको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।कोभिडको तेस्रो लहर आउने विश्लेषणकाबीच राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेकाले आर्थिक पुनरुउत्थानका लागि अघिल्लो मौद्रिक नीतिले दिएको सहुलियतलाई निरन्तरता दिन्छ कि दिँदैन भन्नेमा उद्योगी व्यवसायीको चासो रहेको छ । ,यस्तै बैंकरले पुँजी थप्न पाउनुपर्ने माग गरेकाले माग सम्बोधन हुने कि नहुने भन्नेमा चासो दिएका छन् । हकप्रदकै आसमा सेयर बजारका लगानिकर्ता पनि रहेका छन् ।

यता, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले विलाशिताका वस्तु आयात नियन्त्रण गर्ने पुँजीबजार प्रभावित नहुने गरी मौद्रिक नीति ल्याउन निर्देशन दिएको छ । सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिँदै मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा नै सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएको हुँदा यसमा केही परिमार्जन हुन सक्नेछ ।