सरकारलाई कोरोना संक्रमितको उपचार अनुगमन गर्न सर्वोच्चको आदेश

२८ श्रावण २०७८, बिहीबार १३:३८

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार शुल्क अनुगमन गर्न आदेश दिएको छ । मुलुकको विभिन्न निजी अस्पतालले कोरोना संक्रमित बिरामीको परिवारको उठिबास नै लाग्ने गरी चर्को शुल्क लिइरहेको सर्वत्र गुनासो भइरहेको छ । अस्पतालले चर्को शुल्क लिइरहेको गुनासो आइरहेको बेला सर्वोच्चले अत्यधिक शुल्कको अनुगमन र नियमन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

संक्रमितको उपचारका लागि निजी स्वास्थ्य संस्थाहरुले अत्यधिक शुल्क लिएको र त्यसले नागरिक विचल्लीमा परेको भनी दर्ता भएको रिट सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
‘कोभिड–१९ को महामारीमा अत्याधिक सेवा शुल्क लिने अस्पतालको नियमन गर्न सेवा शुल्क निर्धारण समितिको कामको प्रभावकारिता बढाउने व्यवस्था गर्नु’ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘माल बस्तुको बिक्रीभित्र स्वास्थ्य सेवाको बिक्री पर्दैन भन्न नसकिने हुँदा आवश्यकतानुसार यस ऐन बमोजिम स्वास्थ्य सेवा विक्रीको अनुगमन र कारवाहीमा प्रभावकारिता ल्याउने व्यवस्था गर्नू, गराउनू ।’ सर्वोच्च अदालतले तीन महिनाभित्र आदेश कार्यान्वयन गराउन भनेको छ ।

अस्पतालको बिल तिर्न नसक्दा, मुत्यु हुँदा लाससमेत लिन नसकिने पीडादायी अवस्था देखिएको भन्दै सर्वोच्च अदालतले संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा कागज मै रहन गएको आरोपप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

आदेशमा भनिएको छ, ‘संक्रमित बिरामीको उपचार खर्च पारदर्शी र उत्तरदायीपूर्ण बनाउन आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्नू, गराउनू ।’ अस्पतालहरुले संक्रमितको उपचारका लागि चर्को रकम असुलिरहेको भन्दै अधिवक्ताहरु शैलेन्द्रप्रसाद हरिजन र मोहना अन्सारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सो रिटको सुनुवाइपछि २०७८ जेठ ११ गते न्यायाधीशहरु दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतले संक्रमितको उपचारका लागि सामान्य, मध्यम र जटिल गरी विरामीको शुल्क निर्धारण भएपनि कतिपय निजी अस्पताल र सरकारले सम्झौता गरेका अस्पतालहरुले निकै महंगो शुल्क लिइरहेको र कतिपयले घरखेत समेत बन्धक राख्नुपरेको भन्दै त्यही कारणले कतिपयको ज्यान गुमेको औंल्याएको छ । उसले जथाभावी शुल्क लिनेलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अनुसार सजायको दायरामा ल्याउन ध्यानाकर्षण गराएको छ ।