
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन सार्ने तयारी गरिरहेको बेला संस्थापन पक्षका जिल्ला सभापतिहरू यसबारे छलफलमा जुटेका छन् । ललितपुरकाे एक हाेटलमा संस्थापन पक्षका जिल्ला सभापतिहरूकाे बैठक भइरहको छ ।
बैठकमा सभापति देउवानिकटका २२ जिल्ला सभापति सहभागी छन् । संस्थापनइतर समूहका जिल्ला सभापतिहरूको भेलालगत्तै संस्थापन पक्ष पनि भेलामा जुटेका हुन् । तोकिएको समयमा महाधिवेशन नहुनुका कारणबारे वास्तविकता पहिल्याउन भन्दै संस्थापन पक्षका जिल्ला सभापतिहरू छलफलमा जुटेका हुन् । उनीहरूले सभापति देउवालाई मात्रै दोष दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहयोग गरेको आरोप लगाएका छन् ।
‘क्रियाशीलको विवाद टुंगिन नदिने, समायोजमा भइसकेको सहमति उल्टाउने र पार्टी सभापतिलाई काम गर्न नदिनेहरूले सभापतिविरुद्ध प्रोपोगाण्डा गरेकाले हामीपनि छलफलमा जुटेका हौ’, एक सभापतिले भने । भेलाको निष्कर्षबारे आजै सभापति देउवालाई औपचारिक जानकारी गराउने तयारी छ । केही जिल्ला सभापति भर्चुअल माध्यमबाट जोडिएको बताइएको छ । यसअघि संस्थापन इतर पक्षको जिल्ला सभापति भेलामा ५६ जना सहभागी भएको दावी गरिएको थियो ।
