
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) राख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नमानेको बताउनु भएको छ । प्रचण्डले नमानेपछि कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।
स्रोतका अनुसार नेपाली कांग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाउनुभएको थियो । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ? निधिले प्रश्न गर्नुभएको स्रोतको भनाइे छ । जवाफमा देउवाले भन्नुभयाे, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’
निधिले भने पार्टीले तयार पारेकाे स्थलगत रिपोर्ट प्रतिवेदनमा चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिनुभएको थियो । भेलामा कांग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित हुनुभएको थियो । उहाँले पनि चीनले सीमा मिचिएको तथ्य झुठो सावित भए राजनीति छोड्ने बताउनु भयो । तर देउवा भने यसबाट पन्छिने प्रयास गर्नुभएकाे स्राेतकाे भनाइ छ।
