लुम्बिनीमा कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै

२८ श्रावण २०७८, बिहीबार १०:१२

बुटवल । लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी मुख्यमन्त्री बन्नु हुने भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।

केसीले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी गर्नुभएको छ । शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको सामय तोक्नुभएको छ । संसदीय दलका नेता केसL मुख्यमन्त्रीको दाबी पेश गर्नको लागि विहान ११ बजेतिर प्रदेश प्रमुख कार्यालय जाने तयारी भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिनुभएको छ ।

लुम्बिनी प्रदेश सभामा हाल ८० जना सांसद छन्। जस अनुसार विपक्षी दलसँग कांग्रेसका १९, माओवादी केन्द्रका १९ ९सभामुख सहित० जसपाका ३ र राष्टिय जनमोर्चासँग एकजना सांसद छन्। कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना मुख्यमन्त्री बन्ने सहमती भएको छ। जस अनुसार आगामी फागुन १ गतेसम्म माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने छन्। फागुन २ गतेदेखि बाँकी कार्यकाल कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति दुई दलबीच भएको छ।

मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन विपक्षी दलहरुले तेस्रो पटक अविश्वासको प्रस्ताव ल्याएपछि पोखरेलले बुधबार पदबाट राजिनामा दिनुभएको हो । यस अघि बैशाख ६ गते र बैशाख २६ गते विपक्षी दलले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए। दुवै प्रस्तावमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको थियो।