
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तत फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता विवादको कारण गाउँ, नगर र जिल्ला अधिवेशन निर्धारित समयमा हुन नसक्दा महाधिवेशन फेरि सार्नुपर्ने अवस्था आएको छ ।
दुई वर्षअघि फागुनमा हुनुपर्ने कांग्रेस महाधिवेशन विभिन्न कारणले सर्दै आएको छ । पहिला कोरोना भाइरस ,संक्रमण र त्यसपछि पार्टीको आन्तरिक विवादको कारण विभिन्न पटक सर्दे आएको महाधिवेशन पछिल्लो पटक विभिन्न आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको छ । तर क्रियाशील सदसइता विवादको कारण त्यस अवधिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको हो । महाधिवेशन सार्न सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न नेताहरुसँग छलफल थाल्नु भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्न नसके पार्टीको वैधानिकतामा समस्या आउने बताउँदै आउनु भएको छ । तर देउवा पक्षका केही नेताहरुले भने नेकपा एमाले र माओवादी केन्द्रलाई उदाहारण दिँदै कम्युनिष्टले समयमा गर्न नसक्दा पनि पार्टी वैधानिक हुने तर कांग्रेस भने अवैधानिक हुने भन्दै देउवालाई महाधिवेशन सार्न दबाब दिइरहेको स्रोत बताउँछ । आफ्नो पक्षका नेताहरुले महाधिवेशन सार्न दबाब दिएपछि सभापति देउवाले त्यसबारे छलफल थाल्नु भएको हो । महाधिवेशनबारे बुधबार पनि दिउँसोदेखि राति अबरसम्म कांग्रेससका शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार सभापति देउवाले बूढानिलकण्ठस्थित आफ्नो निवासमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्रीद्वय डा।शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत तथा नेताहरू डा। मिनेन्द्र रिजाल र रमेश लेखक लगायतसँग छलफल गर्नु भएको छ ।
छलफलमा सभापति देउवाले महाधिवेशन मंसिरमा सार्न प्रस्ताव गर्नुभएको छ । देउवासहित संस्थापन पक्षका नेताहरूले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गर्ने र मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । वरिष्ठ नेता पौडेलले भने पार्टीको संवैधानिक हैसियतमा प्रश्न उठ्ने भन्दै भदौ २३ अगाडि नै तल्लो तहको अधिवेशन शुरू गरेर ढिलोमा असोज पहिलो साता महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिनुभएको स्रोतले जनाएको छ। दुवै पक्षले अडान यथावत राखेपछि फेरि बस्ने भन्दै बुधबारको बैठक टुंगिएको थियो । कांग्रेस केन्द्रीय समितिको बैठक आज २ बजे बूढानीलकण्ठमा बस्दैछ । बैठकअघि नै सहमतिका लागि शीर्ष नेताबीच थप छलफल हुने बताइएको छ
