लुम्बिनीमा बहुमतको नयाँ सरकार गठनकाे लागि आह्वान

२७ श्रावण २०७८, बुधबार १७:३२

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेभित्र बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नुभएको हो ।