
बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वका आलोपालो गर्ने सहमति गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बहुमतमा रहेका गठबन्धनको सरकार बन्ने पक्का भएको र कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सहमति भएको माओवादीका सांसद सुर्दशन बरालले जानकारी दिनुभएको छ ।
बरालका अनुसार शुरूको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नु हुने भएको छ। यसबारे लिखित नगरे पनि भद्र सहमति भएको बरालले बताउनुभयो ।
मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताउनु भयो । माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडे पनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको कांग्रेस नेताहरूको भनाइ छ ।
