लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

२७ श्रावण २०७८, बुधबार १३:१०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँ राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय जानुभएको एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र प्रदेशसभाले यसबारे छलफल र मतदान गर्ने आज दिउसो १ बजेलाई कार्यसूची तय गरेको थियो । आफूविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न मुख्यमन्त्री पोखरेलले बिहान संसदीय दलको बैठक राख्नुभएको थियो । बैठकले निर्णय गर्ने सम्पूर्ण अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको थियो । मुख्यमन्त्री पोखरेलले अविश्वसाको प्रस्तावमाथि प्रदेशसभामा छलफल शुरु हुनु केही मिनेट अघि पदबाट राजीनामा दिनुभएको हो ।

एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल एमाले र माओवादी केन्द्रको समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर त्यसदिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त हुनुभएको थियो ।४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उहाँको छाथ छाडेपछि अल्पमतमा पर्नुभएको हो ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।