काठमाडौं। आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । राष्ट्रियसभाको बैठक बिहान ११ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । ‘प्रत्यायन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि ्बैठकमा पेस हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलमा प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
यसैगरी दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश आजको प्रतिनिधिसभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। राजनीतिमा निकै र्चामा रहेको एमसीसी सम्बन्धी विधेयक भने संसद बैठकको कार्यसूचीमा परेको छैन ।
