तनहु। तीन करोडको लागतमा ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ। बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ । हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट टावर नभएपनि प्रष्ट देखिन्छ तर टुडिखेल मुनिको छङ्गाछुर भिर हेर्न कठिनाई भएकोले भ्यू–टावर निर्माण गर्न लागिएको बताइएको छ । यसको लागि वितृत अध्ययन प्रतिवेदन(डिपिआर) समेत तयार भईसकेको र गाउँपालिकाले मात्रै निर्माण गर्न वजेट अपुग हुने भएकाले सङ्घीय तथा गण्डकी प्रदेश सरकारसँग नपुग रकम माग गरिने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो। एकपटकमा १५ जनाले अवलोकन गर्न सक्ने जमिनको सतहबाट करिब ५ फिट अग्लो टावर निर्माण गरी १० फिट दुरीको उत्तर तर्फ टावर लम्ब्याउर दृश्यावलोकनको केन्द्र निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
भ्यू टावरमा अवलोकनको लागि टिकट बिक्री गरी वार्षिक रुपमा तीन करोड रुपियाँ गाउँपालिकाले आम्दानी गर्ने लक्ष्य लिइएको अध्यक्ष थापा बताउनुहुन्छ। गाउँपालिकाका अनुसार २० वर्षे गुरुयोजनामा पर्यटक आकर्षित गर्न विभिन्न योजना तयार गरिएको छ । साहसिक पर्यटकलाई लक्षित गर्दै जीप फ्लायरको डीपीआरको कामलाई अघि बढाइएको छ ।
सिद्धगुफामा जीप फ्लायर बनाउन लागिएको हो । ‘‘विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षलाई समेटेर गुरुयोजना बनाइएको छौं’’ उपाध्यक्ष गुरुङले भन्नुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले फरक किसिमको दृश्यावलोकन स्तम्भ निर्माण गरिने भएकोले पर्यटकलाई लोभ्याउने अपेक्षा गरिएको बताउनुभयो । हातैले छोए जस्तो लाग्ने हिमशृङ्खलाहरु, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङग आरोहण लगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढ्न पुगेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालन ल्याएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास हुन मद्धत पुगेको बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोवर्धन भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरूको बिचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकारको निर्माण पनि भइरहेको छ । पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजार नजिकै रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार निर्माण गर्न लागिएको हो ।
