
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि एक हप्ताको लागि नगरपालिका बन्द गरिएको छ।
सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमाआइतबार मृत्यु भएको थियो । बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि आज भन्दा ४ दिन अघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रधनाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अवकास पछि वडा अध्यक्ष निर्वाचित भएका थिए ।
अर्घाखाँचीमा हालसम्म कोरोनाका कारण ७० जनाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए । कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र छत्रदेव गाउँपािलकामा ३ जना गरी ७० जनाको ज्यान गएको हो ।
हाल सम्म जिल्लाभरमा कुल कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ । हाल सम्म कोरोना मुक्त हुनेको संख्या २६ सय ३४ पुगेको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ पुगेको छ ।
