
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताएकी छन्।
मुस्लिम समुदायको महान् पर्व इद उल जोहा (बकर इद) का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता चाडपर्वले आपसी सद्भाव बढ्ने बताएकी हुन्। भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको उनले बताइन्।
आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने राष्ट्रपति भण्डारीको भनाइ छ।
विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ पर्व मनाउनसमेत उनले आग्रह गरेकी छन्।
राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत दिएकी छन्।
