
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट आजै विश्वासको मत लिने तयारी थालेका छन्।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएपनि आजै लिने तयारी गरेका हुन्। उनले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ।
त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन्। कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन्। विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलमले मत दिन पाउने छैनन्। तर, कायम संख्यामा भने उनीहरूको गणना हुनेछ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्त भएका छन्। उनीहरू अहिले सांसद पदमा छैनन्।
नेकपा (एमाले)मै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो।
स्वतन्त्र रूपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन्।
जनता समाजवादी पार्टीमा जम्मा ३२ सांसद रहेका छन्। ३४ मध्ये दुईजना निलम्बित छन्। रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन्।
त्यसैले ३२ मध्ये अधिकांश सदस्य डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको जनाइएको छ। यसअघि शनिबार बसेको सो समूहको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो समूहका पाँच सांसद उपस्थित भएका थिए।
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेका छन्। सो समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन्। प्रतिनिधि सभामा एमालेका तर्फबाट १२१ सांसद् छन्।
संसदमा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ। त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन्।
तीन पार्टीबाट गरी देउवालाई १३१ जनाले विश्वासको मत दिने निश्चित भएको छ। उनलाई संसदबाट विश्वासको मत लिन थप ५ जना सांसद आवश्यक पर्छ। त्यसका लागि उनलाई एमालेको माधव नेपाल समूह वा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदको मत आवश्यक पर्छ।
देउवाले विश्वासको मत नपाए संसद विघटन हुन्छ र मुलुकमा चुनाव घोषणा हुनेछ।
