प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्‍वासको मत लिने

३ श्रावण २०७८, आईतवार १०:२०

 

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची पनि राखिएको छ । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि सुरु हुँदै छ । करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् ।

अबकेही बेरमा बस्‍ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मतको प्रस्ताव लैजाने तयारी गरिएको जानकारी गराएका छन् । सभामुख अग्नीप्रसाद सापकोटालाई विश्वासको मत लिने सम्बन्धनमा सरकारले जानकारी गराइसकेको छ ।कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले ल्याएको प्रस्ताव अनुसार नै कार्यव्यवस्था समितिले निर्णय गर्ने बताइन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो । आदेशपछि करिब दुई तिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकै विश्‍वासको मत लिने तयारी गरेका हुन् । ओली नेतृत्वको सरकारले १५ वटा अध्यादेश संसद् सचिवालयमा दर्ता गरेको छ । यसअघि प्रतिनिधिसभा पुनः स्थापनापछि गत फागुन २३ गतेको पहिलो बैठकमा उक्त अध्यादेश पेस नभएपछि पुनः जारी गरिएको थियो । दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि फेरि अध्यादेश जारी गरिएको थियो । ती अध्यादेश प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गर्नुपर्छ । संवैधानिक परिषद्लगायत केही अध्यादेशका प्रावधानमा कांग्रेस, माओवादी केन्द्रलगायतको असहमति रहँदै आएको छ । प्रतिनिधिसभाको बैठक बसेको ६० दिनमा पारित नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।