आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन तालिका रद्द

३० असार २०७८, बुधबार १६:३९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ का सबै कार्यतालिका रद्द गरेको छ। बुधबार आयोगले विज्ञप्ति जारी गरेर त्यस सम्बन्धमा जानकारी गराएको हो।

‘निर्वाचन आयोगले सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारको सिफारिस अनुसार गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। सोही अनुसार निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो। तर, सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै निर्वाचनको कार्यतालिका रद्द भएको हो।