चार मन्त्री बनाएका देउवाले यसरी पाउन सक्छन् सफलता

३० असार २०७८, बुधबार १५:४९

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग हाल चार मन्त्री छन् । उनले पहिलो चरणमा मंगलबार ४ जना मन्त्री नियुक्त गरेका छन् । ती चार मन्त्रीहरुले यसअघि पनि विभिन्न मन्त्रालयहरू सम्हालिसकेका छन् । देउवा मन्त्रिमण्डलमा पहिलो चरणमा मन्त्री बन्नेहरूमा बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून मन्त्री बनेका  छन् । त्यस्तै माओवादी तर्फबाट पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाका सारथिका रुपमा रहेका चार मन्त्रीहरु कस्ता छन् पढाैं ।

बालकृष्ण खाँण, गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणको स्थायी ठेगाना तिलोत्तमा नगरपालिका ८, रूपन्देही हो । उनको जन्म २०१७ साल असार १७ गते स्याङ्जामा भएको थियो । उनको परिवारमा  श्रीमती एक छोरा र तीन छोरी छन् । उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

२०३३ सालमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका खाँण नेविसंघ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समितिमा पुगेका थिए ।

२०४३ सालमा उनी त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिमा निर्वाचित भएका थिए भने २०४४ सालमा नेविसंघको सभापति भएका थिए ।  २०५४ सालमा उनी नेपाल तरुण दलको अध्यक्ष र  २०५६ सालदेखि नेपाली कांग्रेस केन्द्रीय समिति सदस्यको जिम्मेवारी पाएका थिए ।

मन्त्री खाँणको संसदीय यात्रा २०४८ सालदेखि सुरु भएको थियो । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा रूपन्देही ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भने उनी समानुपातिक सदस्यका रुपमा निर्वाचित भएका हुन् । उनी प्रतिनिधि सभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन् ।

यसअघि उनी २०६६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री, सिँचाइमन्त्री  र २०७३ सालमा  रक्षामन्त्री  बनेका थिए ।

ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिला मन्त्री

कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको स्थायी ठेगाना देउराली गैरीगाउँ, भोजपुर हो भने उनको हालको ठेगाना भैंसेपाटी, ललितपुर हो ।

२०१३ साल चैत ११ गते भोजपुरमा बाबु कृष्ण मोहन कार्की र आमा अम्बिका कार्कीको कोखबाट उनको जन्म भएको थियो । उनले एमए तहसम्मको अध्ययन गरेका छन् ।  २०२७ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भई उनको राजनीतिक जीवनको सुरु भएको थियो । विभिन्न कमिटीमा काम गर्दै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै २०५८ सालदेखि नेपाली कांग्रेसमा निरन्तर रुपमा केन्द्रीय सदस्य छन् । २०५८ सालमा पार्टी विभाजनपछि नेपाली कांग्रेस प्रजातान्त्रिकको भोजपुर सभापति समेत भएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सुनसरी ४ बाट कार्की निर्वाचित भएका थिए । यसअघि उनले २०६३ सालमा जलस्रोतमन्त्री तथा २०७४ मा अर्थ मन्त्रीको जिम्मेवारी निर्वाह गरेका छन् ।

पम्फा भुसाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री

उर्जामन्त्री पम्फा भुसालको स्थायी ठेगाना अर्घाखाँची हो भने उनको हातको ठेगाना ललितपुर महानगरपालिका वडा नंबर १३ हो । २०१९ साल साउन ४ गते अर्घाखाँचीमा गोविन्दप्रसाद भुसाल र इन्द्रकला भुसालको कोखबाट उनको जन्म भएको हो ।

स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी भुसाल २०३३ सालमा अनेरास्ववियु छैटौंको सदस्यता लिई पुल्चोक क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०४० मा अनेरास्ववियुको केन्द्रीय सदस्य भएकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र महासचिव भएकी थिइन् । २०३७ सालमा नेकपा चौमबाट सदस्यता प्राप्त गरी पार्टीगत राजनीतिमा सक्रिय भएकी थिइन् । २०४६ सालमा नेकपा एकता केन्द्रमा क्षेत्रीय ब्युरो सदस्य भएकी उनी २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सचिव महासचिव र अध्यक्ष भएकी थिइन् । यस्तै २०५१ सालमा नेकपा माओवादीको पहिलो महिला केन्द्रीय सदस्य समेत भएकी थिइन् ।

उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति सदस्य थिइन् । उनी संविधानसभा सदस्य निर्वाचन २०६४ मा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन भने २०७४ को निर्वाचनमा ललितपुर २ बाट निर्वाचित भएकी थिइन् ।

२०६४ सालमा उनले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय सम्हालेकी थिइन् भने २०६५ सालमा सामान्य प्रशासनमन्त्री र २०६८ सालमा  शान्ति तथा पुनर्निर्माणमन्त्री भएकी थिइन् ।

जनार्दन शर्मा, अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माको स्थायी ठेगाना मुसिकोट नगरपालिका वडा नंबर ५, रुकुम पश्चिम हो । २०२० साल वैशाख २६ गते रुकुममा इस्केन्द्र शर्मा र नर्मदा शर्माको कोखबाट उनको जन्म भएको हो । परिवारमा शर्माका  श्रीमती, एक छोरा र एक छोरी छन् ।

स्नातक तहसम्मको अध्ययन गरेका शर्मा २०३४ सालदेखि राजनीतिमा सक्रिय छन् । २०५६ सालमा उनी तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०५७ मा माओवादीको पोलिटब्युरो सदस्य भएका थिए भने २०६० सालमा माओवादी जनमुक्ति सेनाको डिभिजन कमाण्डर भएका थिए ।

२०७० सालमा नेकपा माओवादीको स्थायी समिति सदस्य र २०७१ मा जनवर्गीय संगठनको इञ्चार्जको भूमिका निर्वाह गरेका थिए । साथै माओवादीको प्रदेश ६ को इञ्चार्ज पनि भएका थिए । यस्तै २०७५ जेठपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज भएका थिए ।

मन्त्री शर्मा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रुकुम पश्चिमबाट उनी निर्वाचित भएका थिए । मन्त्री शर्मा यसअघि ३०६५ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री २०७३ मा ऊर्जा मन्त्री र २०७४ मा गृहमन्त्री भइसकेका छन् ।