
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो। गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो तर, जोशीलाई साधारण तारेख र श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन्।
यता गच्छदार भने सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि पनि म्याद नबुझी फरार थिए। तर, कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनसाथ बुधबार विशेष अदालतमा हाजिर भएका हुन्। गच्छदार अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गर्दै म्यादसम्म नबुझी लामो समयदेखि फरार रहेका थिए। गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता छ।
