
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो प्रधानमन्त्रीको सपथ खाए संगै अबको ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमालेका नेता माधव कुमार नेपालको समूहले समर्थन गरे मात्र कांग्रेसको सरकारले विश्वासको मत पाउने भएकाले अहिले माधव नेपाललाई फकाउन शिर्ष नेताहरु जुटेका छन् ।
आज बिहान माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । माओवादी केन्द्र पनि सरकारमा रहेकाले यो सरकार जोगाउने वाध्यता समेत रहेकोले अहिले माओवादी केन्द्र देउवाको सरकार जोगाउन कसरत सुरु गरेको छ ।
नारायणकाजी श्रेष्ठले माधव कुमार नेपाललाई भेटेर अदालतमा हस्ताक्षर बुझाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको औचित्य पूरा गर्न संसदमा देउवालाई नै विश्वासको मत दिन आग्रह गरेका छन् । विश्वासको मत नदिए देश चुनाव तर्फ जान वाध्य हुँदा केपी ओलीले चाहे जस्तो हुने र संसद पूरा ५ वर्ष नचल्दा गलत संदेश जाने भएकाले देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
नारायणकाजी श्रेष्ठ पुगे संगै नेकपा एमालेका अर्का नेता बामदेव गौतम समेत पुगेका थिए । बामदेव गौतमले पनि माधव कुमार नेपाललाई अहिले संसद जोगाउन देउवालाई समर्थन गर्नुपर्ने तर्क प्रस्तुत गरेको श्रोतले जनाएको छ । माधव कुमार नेपालले भने अहिले नै ठोस निर्णय नगरेको तर एमाले पार्टी फुट्नबाट जोगाउन पनि आफुले सोचेर मात्र कदम चाल्ने बताएका छन् ।
बामदेव गौतमले भने सरकार भन्दा प्राथमिकता एमाले पार्टीको एकता रहेको बताएका थिए । श्रोतका अनुसार बामदेव गौतमले संसद पनि जोगाउन पर्ने हुन्छ त्यसैले अहिले पार्टी र संसद जोगाउन निर्णायक तपाइँ रहेकोले सोचेर मात्र निर्णय लिन आग्रह गरेका छन् ।
