
काठमाडौं । जम्मा १९ दिन स्वास्थ्यमन्त्री बनेर पदमुक्त भएका शेरबहादुर तामाङले ‘ब्याक डेट’ राखेर एमाले कार्यकर्तालाई नियुक्ति दिएको खुलासा भएको छ । तामाङले एमाले भ्रातृसंस्था युवा संघका उपाध्यक्ष नृपेन्द्र महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री प्रतिष्ठानका सहकुलपतिसमेत हुन्छन् ।
स्रोतका अनुसार तामाङले मन्त्रीबाट हटेपछि पुरानो मिति राखेर महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले महतसहित तीनजनाको नाम निवर्तमान मन्त्री तामाङलाई सिफारिस गरेका थिए । असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए । उनी मेलम्चीमै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतको आदेशमा तामाङसहित २० जना जिम्मेवारीमुक्त भएका थिए ।
जिम्मेवारीमुक्त भएपछि पनि तामाङले युवा संघका उपाध्यक्ष महतलाई असार ३ गतेको मितिमा रजिष्ट्रारमा नियुक्त गरेको पत्र तयार पारेको मन्त्रालयका कर्मचारीले आरोप लगाएका छन् । नवनियुक्त रजिष्ट्रार महतले ९ गते बुधबार रजिष्ट्रारको नियुक्ति पत्र बुझेका छन् । रजिष्ट्रार पदको कार्यकाल चार वर्षको रहनेछ ।
गत जेठ १६ मा रजिष्ट्रार विश्वराज काफ्लेको पदावधि सकिएपछि उक्त पद खाली थियो । प्रतिष्ठान ऐन अनुसार उपकुलपतिको सिफारिसमा सहकुलपतिले रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ ।
