
विराटनगर । प्रदेश १ सभामा प्रतिनिधित्व गर्ने तीन दलका सांसदले नै सरकारको ढुंगा, गिटी बिक्री गर्ने निर्णय नीति तथा कार्यक्रममार्फत सच्याउन माग गरेका छन् । उनीहरूले सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा संशोधनको माग राखेका हुन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन वटै दलका सांसद सरकारको , ढुंगा गिटी बिक्री गर्ने निर्णयको विपक्षमा देखिएका छन् । उनीहरूले आइतबार प्रदेश १ सभामा संशोधन प्रस्ताव पेश गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विभिन्न बुँदाहरू संशोधन गर्न सरकारलाई सुझाव दिए । आर्थिक अवस्था ऋणात्मक अवस्थामा गएका बेला कार्यान्वायनको गति, बजेट कार्यक्रम कार्यान्वयन हुन नसक्नुको अहिलेको अवस्था सिर्जना हुनुको कारण, सरकारले गरेको कार्यान्वयन पक्षको कमजोरीले नीति तथा कार्यक्रम सफल नहुने त होइन भन्ने कारणसहित संशोधनको प्रस्ताव पेश गरिएको उनले बताए ।
नेपाली कांग्रेसले प्रस्तुत गरेको संशोधन प्रस्तावमा गतवर्ष ऋणत्मक रहेको आर्थिक वृद्धिदर ३ दशमलव ६ भएकाले अस्वभाविक अनुमानमा संशोधन हुनुपर्ने भन्दै उनले कोभिड महामारीसँग जुध्ने विषयलाई लिएर सरकारले नियन्त्रण गर्नुको साटो नियन्त्रण गर्ने उपायमात्र उल्लेख गरेको बताए । उनले कोखदेखि शोकसम्म कार्यक्रम लागू गर्न, मौसम पूर्वानुमान विभागले हुनसक्ने बाढी, पहिरो कटानका लागि योजना र संयन्त्रसहित बजेट व्यवस्थापनको विषयलाई संशोधन गर्न सुझाव दिए ।
