
जनकपुर । धनुषामा मदिरा नष्ट गर्न गएको प्रहरी टोलीमाथि नै र मदिरा व्यवसायीले हातपात गरेका छन् । शनिबार राति धनुषाधाम नगरपालिका ९ धरापानीस्थित प्रहरीमाथि मदिरा व्यवसायीले हातपात गरेका हुन् । इलाका प्रहरी कार्यालय ढल्केवर प्रहरीले गोप्य सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा स्थानीय व्यावसायीले कुटपिट गरेका हुन् । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले मदिरा नियन्त्रणमा लिँन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गरेको बताए । उनका अनुसार दुवै पक्षबीच हात हालाहाल भएको हो ।
कम संख्यामा प्रहरी पुग्दा स्थानीयले हातपात गर्नुको साथै प्रहरीसंग दुर्व्यवहार गरेका थिए । स्थानीय व्यवसायीले प्रहरीलाई हातपात गर्नुको साथै प्रहरीको शरिरमाथि मदिरासमेत खन्याएका थिए । ‘मदिरा बरामद गरी प्रहरी ढलकेवर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि हातपात पनि गरेका छन्,’उनले भने,‘ढुङ्गा प्रहार तथा प्रहरीको शरिरमाथि मदिरा खन्याएर दुर्वव्यवहार गरको छ ।’
प्रहरीमाथि दुव्र्यवहार र मदिरा खन्याएको आरोपमा तीन जना पक्राउ समेत परेका छन् । धनुषाधाम नगरपालिका ९ धारापानीका शुसिला थापा, लक्ष्मी साह र श्रवण कापरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । पक्राउ परेका तीनै जना ढलकेवर प्रहरीको हिरासतमा छन् । प्रहरी एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । स्थानीयको प्रहारबाट ना १ झ १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुर्याएको छ भने प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ ।
