
काठमाडाैं । ५६ करोड खर्च भए पनि सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमण बढ्ने क्रममै छ । यसको रोकथामका लागि जुन पहल हुनुपर्थ्यो त्यो हुन सकेकै छैन । त्यसै कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छैन । वैशाख १६ बाट लगातार निषेधाज्ञा भए पनि निषेधाज्ञा कोरोना रोकथामको उपाय पक्कै होइन । तर, पनि निषेधाज्ञा जारी छ । हरेक दिन संक्रमित थपिने क्रम जारी छ र यो घट्ने क्रममा नै छैन भने पनि हुन्छ । ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तथा प्रदेश सरकारको तदारुकता प्रभावकारी भएको महसुस हुनसकेको छैन । प्रदेश सरकारले कोरोनाका लागि छुट्टै कोष निर्माण गरेको छ । उक्त कोषबाट पहिलो र दोस्रो चरण गरी ५६ करोड खर्च भएको छ ।
दुई चरणमा कोरोना संक्रमण फैलिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरिरहेको कोषबाट ५६ करोड ४० लाख खर्च भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले कोषमा प्रदेश सरकारको ५५ करोड समेत गरेर हालसम्म ५९ करोड ३८ लाख बजेट जम्मा भएकोमा ५६ करोड ४० लाख खर्च भएको जानकारी दिए ।
पहिलो चरणको संक्रमण फैलिएका बेला खडा गरिएको कोषमा प्रदेश सरकारले गत वर्ष ४० करोड र चालु वर्षमा १५ करोड रकम जम्मा गरेको उनले बताए । कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि जम्मा भएको रकममध्ये प्रदेश सरकारको २०७७ चैत ११ गतेको निर्णयअनुसार बोलन्या थली नामक संस्थालाई ३ लाख ५२ हजार रुपैयाँ निकासा गरेको छ । कोषको सचिवालयले प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत सहयोग स्वरुप रकम प्रदान गरेको हो ।
