ओली पथ छोडी सुब्बाले जोगाए एमालेको सान

२९ जेष्ठ २०७८, शनिबार २१:२३

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँड्दै गण्डकी प्रदेश पनि मध्यावधि निर्वाचनको विकल्पमा जाने हो कि भन्ने सम्भावनालाई चिर्दै अन्ततः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो बहिर्गमनको बाटो रोजेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री हुनका लागि दाबी पेस गर्दा गुरुङ पनि ओलीकै पथमा लम्किएको संकेत मिलेको थियो । तर, ३१ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका नेपाली काँग्रेसका प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल अन्ततः प्रदेश प्रमुखबाट शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।