
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले निषेधाज्ञाका बेला सरकारले फाइदा उठाउने प्रपञ्च गर्छ भने सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्। नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत १८ जना बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू बालुवाटारबाट आज पक्राउ परेपछि नेता थापाले कोरोनाले निम्त्याएको परिस्थितिमा सरकारले फाइदा उठाउन खोजे नागरिकले प्रतिरोध गर्ने संकेत गरेका छन्।
सरकारले निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा अभियन्ताहरू विरोधमा उत्रिएका छन्। यसबारे थापाले निषेधाज्ञाका बेला सडकमा आउनु गलत भए पनि सरकारले नै आफ्नो स्वार्थका लागि काम गरेकोले विरोधमा उत्रनु स्वभाविक रूपमा लिनुपर्ने संकेत गरेका छन्।
‘निषेधाज्ञा उलंघन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,काेराेनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन,’ थापाले ट्वीट गर्दै भनेका छन्। निषेधाज्ञा उलंघन गरेको भन्दै वाग्लेसहित प्रदर्शनमा उत्रेका १८ नागरिकलाई बालुवाटारबाट पक्रेर प्रहरीले कमलपोखरीस्थित प्रहरी वृत्तमा राखेको छ।
