
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्कन राखेको प्रस्ताव माधव–झलनाथ समूहले अस्वीकार गर्ने भएको छ । आफूहरुले जेठ ३ को अवस्थामा नभएर जेठ २ पूर्वको अवस्थामा फर्कनुपर्ने माग गर्दै आएको सो समूहका नेताहरुको भनाइ छ ।
ओलीको प्रस्ताव प्रथम दृष्टिमै कपटपूर्ण देखिएको ती नेताले बताए । उनले भने, ‘माधव कमरेडहरुमाथिको कारवाही फिर्ताको कुरै गरिएको छैन, संसद विघटन गरिएकोमा कुनै पश्चाताप वा आत्मालोचना गरिएको छैन । एक व्यक्ति, एक पदको कुरा गरिएको छैन, यस्तो अवस्थामा हामीले हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना छैन ।’
माधव पक्षका ती केन्द्रीय सदस्यका अनुसार सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता गर्न आइतबार ओली पक्षका नेताले केही नेतालाई दबावसमेत दिएका थिए । उनले भने ‘गोकर्ण विष्ट, योगेश भट्टराई, राजबहादुर बूढा र गणेश पहाडीले हस्ताक्षर नै गर्नुभएको छैन, अरुबाट हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना छैन ।’
