प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै,

२३ जेष्ठ २०७८, आईतवार ०९:५५

काठमाडौं । संसद विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने बताउनुभएको थियो ।यसअघि प्रधानन्यायाधीश राणाले गठन गर्नुभएको इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो ।

न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू अलग हुने निर्णय गर्नुभएको थियो ।

सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा (फुल कोर्ट) प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाउनुभएको छ ।

गत शुक्रबार नागरिकता अध्यादेशसम्बन्धी परेका मुद्दाको सुनुवाइ गर्न राणाले वरिष्ठताका आधारमा न्यायाधीश छानेर संवैधानिक इजलास गठन गर्नुभएको थियो ।इजलासमा को पर्छन भन्ने अहिले आम चासोको विषय बनेको छ ।