
कमरेड प्रचण्ड फेसबुक समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समर्थकहरुले स्वतस्फूर्त रुपमा खोलेका हुन्। नेपालमा कमरेड प्रचण्डले फैलाएको क्रान्तिकारी विचार, दृष्टिकोण र राजनीतिलाई थप जनतामाझ पु¥याउने, प्रचण्ड र उहाँको पार्टीको विचारलाई आम रुपमा सबैतिर फैलाउने र समाजवादी मार्गमा अघि बढ्दै समुन्नत र समृद्ध नेपाल निर्माण गर्ने कमरेड प्रचण्डको अभियानलाई सघाउने यस समूहले उद्देश्य लिएको छ।
यस फेसबुक समूहमा अध्यक्ष कमरेड प्रचण्ड, ऐतिहासिक महान जनयुद्ध, प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कम्युनिष्ट आन्दोलनका विविध विषयमा छलफल, बहस हुनेछ। साथै कमरेड प्रचण्ड र नेकपासँग सम्बन्धित समाचार, विचार, लेखरचना, तस्बिर, अडियो, भिडियो लगायतका सामग्रीहरु मात्रै यहाँ पोष्ट गरिनेछ।
सबैलाई थाहा भएकै कुरा हो, प्रचण्ड कुनै एक व्यक्तिको नाम मात्रै होइन, सिंगो कम्युनिष्ट आन्दोलन अझ त्यसमा पनि नेपालमा माओवादी आन्दोलनको पहिचान हो। कुनै बेला मोटो मशालको रुपमा रहेको कम्युनिष्ट धारालाई नेतृत्व गर्नुभएका प्रचण्डले स–साना समूह र गुटमा टुक्रिएर रहेका कम्युनिष्ट घटकहरुलाई एकीकृत गर्दै २०५१ सालमा नेकपा (माओवादी) निर्माण गर्नुभयो र २०५२ फागुन १ गतेदेखि प्रतिक्रियावादी राज्यसत्ताको ध्वंस गर्दै जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं भन्ने मूल नारासहित जनयुद्धको शंखघोष गर्नुभयो।
त्यहीँ ऐतिहासिक महान् जनयुद्धले आज नेपालमा सदियौं वर्षदेखि जरा गाडेर रहेको सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर संघीय गणतन्त्र नेपाल स्थापना गरेको छ। देशमा गणतन्त्रको स्थापनासँगै जनताका प्रतिनिधिहरु सम्मिलित संविधान सभाले नयाँ संविधान निर्माण गरेको छ। संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक एवं सहभागितामूलक प्रणालीको संस्थागत विकास गरेको छ। हिजो काठमाडौंकेन्द्रित राज्यसत्ताको पहुँच अहिले प्रदेश सरकार र स्थानीय सरकारको रुपमा गाउँसम्म पुगेको छ।
यो सबै परिवर्तन आफसेआफ भइदिएको होइन, यी उपलब्धिका लागि हजारौं महान सहिदहरुको बलिदान, बेपत्ता तथा घाइते योद्धाहरुको योगदान, लाखौं लाख नेपाली जनताको संघर्षबाट मात्र सम्भव भएको हो।
नेपालको यो युगान्तकारी परिवर्तनको नेतृत्व कमरेड प्रचण्ड, उहाँको नेतृत्वमा सञ्चालित महान् जनयुद्ध, माओवादी आन्दोलनका साथै समग्र नेपाली कम्युनिष्ट आन्दोलन एवं विभिन्न कम्युनिष्ट घटकहरुको पनि योगदान रहेको छ। यो तथ्यलाई नजरअन्दाज गरेर अहिलेको परिवर्तन आफै भएको जस्तो गर्नु हामी सबैको गम्भीर भूल हुनेछ
