सरकारले खरानीको व्यापार गर्न घर जलाउन खोज्यो : सभापति देउवा
१९ जेष्ठ २०७८, बुधबार २०:०९
काठमाडौं, । सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताउनुभएको छ ।सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीर रूपले लिएको उहाँले बताउनुभयो ।चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा पर्यावरणमा गम्भीर असर पर्ने अध्ययनले देखाए पनि गल्ती सच्याएर अघि बढ्नु पर्नेमा दोहन गर्न सरकारले प्रोत्साहन गर्नु प्रकृति विरूद्धको अपराध भएको उहाँले बताउनुभयो ।सरकारले तराई मधेस क्षेत्रलाई मरुभूमिकरण षर्ने षड्यन्त्र गरेको उनको आरोप छ ।
‘देशले वर्सौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा भनिएको छ ‘अतः नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ।’ विज्ञप्तिमा भनिएको छ ।