सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

१२ जेष्ठ २०७८, बुधबार १५:४१

कैलाली । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो ।बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताउनुभयो ।

साथै हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिने निर्णय भएको उहाँको भनाइ छ ।नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्थायी कमिटीको निर्णयबारे बुधबारको बैठकमा छलफल नै नगरेको दाबी गर्नुभयो ।

पार्टीको स्थायी कमिटी बैठकको आधिकारिक सूचना नआएकाले समर्थन फिर्ता लिने, मन्त्रीहरू फिर्ता बोलाउने सम्बन्धमा कुरा नै नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आधिकारिक रूपमा नआउन्जेल सम्म त्यस विषयमा निर्णय लिन उपयुक्त हुँदैन कि भनेर अहिले छलफल गरिएन ।’

यसअघि नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । ५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रूपमा छ । त्यसमा पनि ७ जना ओली पक्ष र १८ जना खनाल– नेपाल पक्षका सांसद छन् ।

बुधबारको बैठकमा २१ जना सांसदको उपस्थिति थियो । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ । नेकपा भएका बेला, सुदूरपश्चिम प्रदेश माओवादीको भागमा परेको थियो ।

अहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी एमालेको तर्फबाट मन्त्री छन् । शाह नेकपा एमाले संसदीय दलका नेतासमेत हुन् । तीनजना मन्त्री पनि खनाल नेपाल पक्षकै हुन् ।