संविधान छलेर सत्ता कब्जा गर्न खोजिएको होइन , प्रधानमन्‍त्री ओली

७ जेष्ठ २०७८, शुक्रबार १३:५७

काठमाडौं।   प्रधानमन्‍त्री केपी ओलीले बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको स्पस्ट पारेका छन्।शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम फैलाउन खोजिएको आरोप लगाए।

सत्ताको अस्वस्थ खेलको चक्रब्यूहमा मुलुक अल्झिनुपर्ने अवस्थालाई अन्त्य गर्न आफूले यस्तो कदम चालेको बताएका छन्। उनले भने, ‘सरकार चलाउन सक्ने अवस्था पनि छैन। नयाँ सरकार बन्‍ने अवस्था पनि छैन। यही जटिल अवस्थामा घुमिरहनुपर्ने अवस्थालाई ध्यानमा राखेर विकल्प दिन खोजिएको हो।’

ताजा जनादेश नै उत्तम विकल्प हुने ठानेर आफूले संसद विघटन गरेको दाबि गरे। संसद पुनर्स्थापना भएको दुई महिनासम्म विपक्षीले अविश्‍वास प्रस्ताव ल्याउन नसकेको बताए। ओलीको भनाइ थियो, ‘विपक्षीहरूले वैकल्पिक सरकार बनाउन सकेनन्। न त संसदले कुनै पनि निकास दिनसक्यो। अनि विश्‍वासको मत माग्‍न खोज्दा त्यो पनि संभव भएन।’