
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ। कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो। गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।
त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएका छन्। उक्त यन्त्र पनि हाल प्रयोगमा रहेका छन्। भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘काठमाडौँका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ।’ ज्ञवालीका अनुसार प्राप्त सामग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ।
सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य रु एक करोड ५० लाख रहेको छ। उक्त सामग्री वैशाख ३१ गते कामपामा आइपुगेको हो। उक्त प्राप्त सामग्रीमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ। हाम्रो मित्रता सधैँ रहिरहनेछ’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रहिरहन्छ’ भनी लेखिएको छ।
