
चितवन । चितवन मेडिकल कलेजले कोरोना संक्रमित थप बिरामीको उपचार गर्न गाह्रो भएको जनाएको छ । कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजको अक्सिजन सिलिण्डरको कोटा जिल्ला प्रशासन कार्यालयले घटाएपछि बिरामीको उपचार गर्न समस्या भएको बताए ।
अहिले कलेजको आफ्नो उत्पादन दैनिक ३ सय सिलिण्डर र बाहिरी उद्योगबाट थप ३ सय सिलिण्डरको खपत हुँदै आएको छ । ‘हामीले चार सय सिलिण्डर दैनिक माग गरेका हौं, तर जम्मा २५० मात्रै दिने कुरा भएपछि पहिल्यै जानकारी गराउन राम्रो हुने भएकाले जानकारी गरायौं,’ कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले भने, ‘हामीलाई कम्तीमा पनि ३५० देखि ४ सय सिलिण्डर दैनिक चाहिन्छ ।’
उनले एम्बुलेन्समा राख्ने जत्रो सानो सिलिण्डरबाट काम चलाइएको दुखेसो गरे । ‘जिल्लाका मात्रै हैन, जिल्ला बाहिरका पनि गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचार चितवन मेडिकल कलेजले गर्दै आएको छ, गम्भिर बिरामी भएपछि बढी अक्सिजनको खपत पनि हुन्छ,’ डा. न्यौपानेले भने, ‘अक्सिजनको सप्लाई नदिने हो भने, हामीले थप संक्रमितको उपचार गर्न असहज हुन्छ, अस्पतालले मात्रै सबै कुराको जोहो गर्न कसरी सक्छ ?’
अहिले चितवन मेडिकल कलेजमा ८१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । ती मध्ये १४८ जना कोभिड आइसियूमा, ३४ जना भेन्टिलेटरमा ३३ जना एचडीयूमा छन्।
