
काठमाडौं। जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए । उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’
