नेकपा एमालेको नेपाल– खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी

२६ बैशाख २०७८, आईतवार ११:०२

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् ।सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् ।प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै विभिन्न चरणमा भएका छलफलमा ठोस सहमति नभएपछि खनाल नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामा बुझाउने भएका हुन् ।

खनाल–नेपाल समुहका नेताहरूले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउन आफूहरूले गरेको आग्रह नमानेकाले राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुको विकल्प नभएको बताएका छन् ।

सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरू योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेताहरूले बताउँदै आएका छन् ।खनाल–नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ ।

अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये खनाल–नेपाल समूहका २० जनाले मात्रै राजीनामा दिए पनि २ सय ४७ सदस्य कायम रहनेछ ।