
काठमाडौं ।नयाँ वर्ष २०७८ को सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारले जारी गरेका सुरक्षाका मापदण्ड पालना गरेर नागरिक आफैं सुरक्षित रहे कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदम फलदायी हुने बताउनुभयो ।
उहाँले विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको बताउनुभएको हो । परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको भन्दै प्रधानमन्त्री ओलीले सावधानी अपनाउन सबैलाई अपिल पनि गर्नुभयो ।
उहाँले कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको जिकिर गर्नुभएको छ । उहाँले सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकताका राखेकाले निराशा जगाउन खोजिएका प्रयासहरु मान्य नहुने तर्क गर्नुभयो ।
उहाँले लामो समयदेखिको प्रतीक्षामा रहेका मेलम्ची खानेपानी काठमाडौंमा ल्याएको भन्दै देशभर विकास निर्माणका कामले तीव्रता पाएको बताउनुभयो ।अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले विदेशा असुरक्षा रहेकाले देशभित्रै रहेर उपयुक्त रोजगारीका अवसर खोज्न आग्रह गर्नुभयो । उहाँले युवाहरुको दक्षता र सीपको प्रयोग देशको विकासमा लगाउनु आग्रह पनि गर्नुभयो ।
