
काठमाडौ । वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको हो ।
“धरहराको सबै काम सकिन त केही समय लाग्छ । तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको हो,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने, “अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।”
प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।
कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको थियो ।
२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।
धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३५० जनाले काम गरेका थिए । लकडाउनको समयमा २५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिएको थियो ।
