पूर्वराजाको दुःखेसो : पछिल्लो समय आर्य सभ्यताको महत्व खिइँदै गयो

२९ चैत्र २०७७, आईतवार १९:३९

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्रले नेपाल–भारतका कैयन् देवस्थलले विश्वव्यापी मान्यता राख्ने बताएका छन्।

भारतको उत्तराखण्डाको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन त्यहाँ गएका पूर्वराजाले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको पनि बताए। ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो। हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।’

हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान वैदिक मन्त्रोच्चारण साथ पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो।