इथियोपियामा दुई प्रान्तबीच झडप

२५ चैत्र २०७७, बुधबार १३:३८

काठमाडौं । इथियोपियाका अफार र सोमाली प्रान्तबीच भएको झडपमा परी एक सयभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तबीचमा हिंसा भड्किएको हो ।

गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले पहिला आक्रमण गरेको दाबी गरे । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो दाबी गर्दै आएको भूमिमा भएको हो । शुक्रबार पनि उक्त द्वन्द्वको क्रममा २५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

अफार प्रान्तका अहमद कालोयटले एएपपीसँगको कुराकानीमा सोमालीको विशेष प्रहरी र लडाकुहरुले हरुकामा खानतलासी गर्दै स्थानीयहरुमाथि अन्धाधुन्ध गोली चलाएको बताएका छन् । यो क्रममा अफारका ३० जनाको मृत्यु भएको थियो भने कम्तीमा ५० भन्दा धेरै घाइते भएका थिए ।इथियोपियाका दुवै प्रान्तले आफूले पहिला आक्रमण गरेको अस्वीकार गर्दै एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।