भारतबाट फर्किएका ५६ जनाको एन्टीजिन परीक्षणको नतिजा पोजेटिभ

२२ चैत्र २०७७, आईतवार १७:०७

कञ्‍चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ।

शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजिन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ। शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजिन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

उनका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजिन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ। एन्टीजिन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन्।

भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हुँदै आएको छ। सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन्।