नुवाकोटवासीसँग सहमति हुन नसकेपछि उपत्यकाको फोहोर अझै नउठ्ने

२० चैत्र २०७७, शुक्रबार ११:४३

काठमाडौँ । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच भएको वार्ता सफल हुन नसकेपछि उपत्यकाको फोहोर अझै नउठ्ने भएको छ । महानगर र सिसडोलवासीबीच बुधबार र बिहीबार वार्ता भएको थियो । बिहीबार महानगर प्रमुख विद्यासुन्दर शाक्य बीचमै उठेर हिँडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको फोहोरमैला प्रभावित शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिश शर्मा ढुंगानाले बताए ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलले सिसडोलवासीसँग बृहत् छलफल भए पनि सहमति हुन नसकेको बताए । ‘मेयर अस्वस्थ हुनुहुन्थ्यो, छलफलमा केही समय सहभागी भएपछि उहाँ उपचारका लागि निस्किनुभयो,’ उनले भने, ‘त्यसपछि सिसडोलवासीले मेयरसाबकै अगाडि छलफल गर्ने भनेपछि वार्ता स्थगित भयो ।’ सिसडोलवासीसँग शनिबार वार्ता गरी फोहोर व्यवस्थापनको समस्या टुंग्याउने उनले बताए ।

सिसडोलवासीले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्नेलगायत यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।